त्रिपुरासुन्दरी गाउँपालिकाबाट इलाका प्रहरी कार्यालय सल्यानटारलाई मोटरसाइकल हस्तान्तरण


  • दिव्यदर्शन
  • शुक्रबार, कार्तिक २२ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,
सेवा प्रवाहलाई सहज, प्रभावकारी र द्रुतगतिमा पुर्‍याउने उद्देश्यले त्रिपुरासुन्दरी गाउँपालिकाले प्रहरीसँग सहकार्य गर्दै इलाका प्रहरी कार्यालय सल्यानटारलाई एक थान मोटरसाइकल हस्तान्तरण गरेको छ।

गाउँपालिकाको कार्यालयमा आज आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेष बहादुर रिजालमार्फत उक्त मोटरसाइकल हस्तान्तरण गर्नुभयो।कार्यक्रममा अध्यक्ष उप्रेतीले शान्ति, सु–व्यवस्था र सामुदायिक सुरक्षामा प्रहरीको योगदानलाई उच्च सम्मान गर्दै स्थानीय तहबाट पनि यस्ता सहयोगका पहल निरन्तर गरिने बताउनुभयो।

त्यसैगरी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रिजालले गाउँपालिकाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस प्रकारको सहकार्यले प्रहरीको पहुँच र गतिशीलतामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी अधिकारी, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो सहयोगले गाउँपालिकाको क्षेत्रभित्र शान्ति–सुरक्षा, सेवा प्रवाह र सामुदायिक विकासमा आपसी साझेदारीलाई सुदृढ गर्दै, स्थानीय स्तरमा सु–व्यवस्था र नागरिकमैत्री प्रशासन स्थापनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Photo source:त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web