काठमाण्डौ –नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ प्रयोग गरेबापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरेको छ। यसअघि ६ वटा उद्योगको बिजुली काटिएकोमा गएराति थप उद्योगको लाइन काटिएको हो।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्डस्ट्रीज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सका लाइन काटिएका हुन्।
यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको बिजुली काटिएको थियो।
कूल ८ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योगमध्ये १४ वटा उद्योगले किस्तामा तिर्न थालेका छन् भने ६ वटा उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन्।
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल उठाउने विषय २०७५ सालदेखि अनसुल्झिएको हो। उद्योगीहरूले आफैंले सो सेवा नलिएको दाबी गर्दै महसुल तिर्न अस्वीकार गर्दै आएका छन्।
प्राधिकरणले असोज १२ गते २१ दिनभित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो। तोकिएको समयसम्म तिर्न नआएपछि विद्युत् महसुल सङ्कलन नियमावली, २०७८ बमोजिम लाइन काटिएको प्राधिकरणले जनाएको छ।
