‘अमच्योर र्‍यापर’ विपिन जोशी: संगीतप्रेमी युवाको अन्तिम यात्रा महाकाली नदीमै टुंगियो


  • दिव्यदर्शन
  • मंगलबार, कार्तिक ५ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं, हमास आक्रमणमा परेर निधन भएका नेपाली युवा विपिन जोशीको शव सोमबार नेपाल ल्याइएको छ। राष्ट्रिय सम्मानसहित मंगलबार बिहान महाकाली नदी किनारमा उनको अन्त्येष्टि गरिएको हो।

सुदूरपश्चिमको बैतडी जिल्लाका विपिन जोशी दुई वर्षअघि ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका थिए। तर, त्यहाँ पुगेको मात्र एक महिनामै २०२३ अक्टोबर ७ मा गाजाबाट इजरायलमा आक्रमण गरेका हमास लडाकुहरूको बन्धकमा परेका थिए। लामो समय बन्धक बनाइएका विपिनको निधन भएको पुष्टि केही महिनाअघि इजरायली अधिकारीहरूले गरेका थिए।

इजरायली विदेश मन्त्रालयले बन्धकहरूमध्ये एकको रूपमा विपिनलाई प्रस्तुत गर्दा उनलाई ‘अमच्योर र्‍यापर’को रूपमा चिनाएको थियो। यस्तै, अमेरिकी अखबार वालस्ट्रिट जर्नल ले विपिनलाई “र्‍याप गायन सिक्दै गरेका उत्साही युवा” को रूपमा चित्रण गरेको थियो।

नेपाल फर्किएको उनको शवसँगै ल्याइएका सामग्रीहरू – लुगा, कापी-किताब, गिटार र अन्य व्यक्तिगत सामानहरू – उनका सपनाहरूको साक्षी थिए। नीलो गिटार र डायरीमा लेखिएका संगीतसम्बन्धी नोटहरूले संगीतप्रतिको उनको गहिरो रुचि झल्काउँछ।

परिवारले विपिनका ती सामग्रीहरू महाकाली नदीमा बगाएका छन् – जहाँ उनका बाल्यकालका सम्झनाहरू मिसिएका थिए, त्यहीँ उनका सपनाहरू पनि सधैंका लागि बगेका छन्।

बिपिन जोशी जस्ता युवा, जसले विदेशमा शिक्षासँगै सीप सिक्ने सपना देखेका थिए, आतङ्कवादको चपेटामा परेर अकालमा ज्यान गुमाउनु दुःखद त्रासदी हो। विपिनको अन्तिम यात्रा मात्र होइन, उनका अधुरा गीतहरू र अधुरा सपना पनि महाकालीमै बगाइयो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web