३ कात्तिक, मुस्ताङ । दसैँ तथा तिहारको विदालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा असोज महिनामा आन्तरिक तथा बाह्य गरी ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । मुक्तिनाथ मन्दिरको दर्शन, निलगिरि र धौलागिरि हिमशृङ्खलाको अवलोकन, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, मार्फा, जोमसोमलगायत स्थानको जैविक तथा प्राकृतिक सौन्दर्यता हेर्न पर्यटकहरू मुस्ताङ आएका हुन्।
प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका थिए । असोज २१ देखि ३१ गतेसम्मको दसैँ अवधिमा मात्र ४९ हजार ३७१ पर्यटक प्रवेश गरेका थिए भने सोही अवधिमा १४ हजार ३८९ पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए, जसमा १३ हजार ९२९ आन्तरिक र ४५० विदेशी रहेका थिए ।
यद्यपि गत वर्षको तुलनामा यो वर्ष मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेको देखिन्छ । गत वर्षको असोजमा ५९ हजार ८३१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ आएका थिए भने यस वर्ष सो सङ्ख्या घटेर २०.८५ प्रतिशतले कमी आएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा कूल १ लाख १८ हजार ६८९ पर्यटक मुस्ताङ आएका छन्, जसमा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी पर्यटक रहेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा भने सात लाख पाँच हजार ७७९ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । तीमध्ये पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ विदेशी पर्यटक थिए । यो वर्षको सुरुआती तीन महिनामै पर्यटनमा कमी देखिनुले पर्यटन व्यवसायीहरूलाई चिन्तित बनाएको छ।
