आजदेखि यमपञ्चक अर्थात् तिहारको सुरूवात, धनतेरस आजै मनाइँदै


  • दिव्यदर्शन
  • शनिबार, कार्तिक २ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौँ, — नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरू भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वलाई यमपञ्चक पनि भनिन्छ।

आज दिउँसो १ बजेर २३ मिनेटसम्म द्वादशी तिथि रहेको र त्यसपछि त्रयोदशी लाग्ने भएकाले धनतेरस (धनत्रयोदशी) आजै मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यसै दिनदेखि यमदीपदान पनि सुरू हुने समितिका सदस्य तथा धर्मशास्त्रविद् डा. देवमणि भट्टराईले जानकारी दिनुभयो।

भोलि कात्तिक ३ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती परेको छ। तिथिको मिलानका कारण कात्तिक ४ गते सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन परेको समितिले जनाएको छ। सो दिन दिउँसो २ बजेर ५२ मिनेटसम्म चतुर्दशी, त्यसपछि औँसी तिथि रहने भएकाले लक्ष्मीपूजा यही दिन पर्छ।

कात्तिक ५ गते मंगलवार तिहारको चौथो दिन गाईगोरु पूजा, गोवर्द्धन पूजा, र नेपाल संवत्‌को आरम्भ एकै साथ परेको छ। यस दिन नेवार समुदायले आत्म पूजा समेत गर्ने परम्परा छ।

कात्तिक ६ गते बिहीवार तिहारको अन्तिम दिन भाइटीका मनाइनेछ। भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे रहेको समितिले जनाएको छ। यसै दिन नेवारी समुदायको किजा पूजा पनि गरिनेछ।

यसरी पाँच दिनसम्म मनाइने तिहार पर्व आजदेखि दीप प्रज्वलन, पूजाआजा र पारिवारिक सद्भावका साथ सुरु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web