काठमाण्डाै, गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई आवश्यक स्राेत साधन अभाव भएमा आउँदो प्रतिनिधिसभा चुनाव प्रभावित हुने सम्भावनाप्रति सरकार सर्तक रहेको बताउनुभएको छ।
७०औं प्रहरी दिवस–२०८२ को अवसरमा आयोजित अमर प्रहरी श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री अर्यालले प्रहरी संगठनलाई साधन–स्रोतसहित मजबुत बनाउनेतर्फ गृह मन्त्रालय गम्भीर रहेको बताउनुभयो।
उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा स्राेत साधनको अभावले प्रहरीले चुनौतिपूर्ण अवस्थाको सामना गर्नुपरेको र यसले आमनागरिकसम्म प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्नुभयो।
गृहमन्त्रीले प्रविधिको विकाससँगै नयाँ ढंगका अपराधहरू बढ्दै गएकाले अनुसन्धान कार्य थप जटिल बन्दै गएको बताउँदै सुरक्षा निकायलाई आधुनिक र सक्षम बनाउनु अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेनजी प्रदर्शन र त्यसपछिका घटनाले मुलुकले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताउनुभयो।
उहाँले नेपाल प्रहरीले राजनीतिक परिवर्तनपछिका जटिल परिस्थितिमा पनि नागरिकलाई शान्ति, सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्दै संगठन व्यावसायिक रूपमा सक्षम रहेको बताउनुभयो।
