काठमाडौं, २६ असोज – गत शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (आइतबार) सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले उकालो लागेको छ।
महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो। तर आइतबार उक्त मूल्य बढेर दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, शुक्रबार तीन हजार ८५ रुपैयाँमा कारोबार भएको एक तोला चाँदी आइतबार तीन हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च दरमा कायम रहेको देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४,०१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
विश्लेषकहरूका अनुसार मध्यपूर्वको तनाव, मुद्रास्फीति नियन्त्रणका लागि लिइएका नीतिहरू, र लगानीकर्ताहरूको सुरक्षित लगानीप्रतिको रुचिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागिरहेको छ। यसको सिधा प्रभाव नेपाली बजारमा पनि देखिएको हो।
