असोज १९ – इलाम जिल्लामा अविरल वर्षाका कारण गएको पहिरोमा परी हालसम्म २८ जनाको ज्यान गएको छ। सशस्त्र प्रहरी बलले संकलन गरेको तथ्यांकअनुसार विभिन्न स्थानीय तहमा ठूलो मानवीय क्षति भएको पुष्टि भएको छ।
सुरक्षा निकायका अनुसार सबैभन्दा बढी माइजोगमाइ गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ। त्यसपछि इलाम नगरपालिका–१ मा ६, सूर्योदय नगरपालिका–१ मा ५, मान्सेबुङमा ३, सन्दकपुरमा ३, देउमाईमा २ र फाकफोकथुममा १ जनाको ज्यान गएको छ।
पहिरोका कारण दर्जनौं घरहरु पुरिएको र धेरै नागरिक प्रभावित भएको जनाइएको छ। पहिरो प्रभावित क्षेत्रहरूमा सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन् भने घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको छ।
स्थानीय प्रशासन र सुरक्षा निकायहरूले अझै पनि खोज तथा उद्धार कार्य जारी राखेको जनाएका छन्।
