धादिङमा मानसिक अपाङ्गता भएकी किशोरीमाथि बलात्कार, उपचारको क्रममा मृत्यु


  • दिव्यदर्शन
  • बुधबार, असोज १ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, भदौ ३१ – धादिङको नीलकण्ठ नगरपालिका–१० मा मानसिक अपाङ्गता भएकी २९ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। पीडित किशोरीको उपचारको क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

प्रहरीका अनुसार भाद्र २५ गते बलात्कृत भएकी ती किशोरीले भोलिपल्ट भद्र २६ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गरेकी थिइन्। उजुरी दर्ता गरेपछि उनी आफ्नै दिदीको घर फर्किएकी थिइन्।

तर, केही दिनमै स्वास्थ्यमा समस्या देखिएपछि ती किशोरी पुनः जिल्ला अस्पताल धादिङमा फालोअपका लागि पुगेकी थिइन्। अस्पतालमा गरिएको परीक्षणमा उनको शरीरमा गम्भीर रूपमा हेमोग्लोबिनको कमी देखिएपछि रगत चढाउने क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

ती किशोरी विगत तीन वर्षदेखि नीलकण्ठ नगरपालिका–११ लामस्थानमा आफ्नै दिदीको साथमा बस्दै आएकी थिइन्। उनी मानसिक रूपले अस्वस्थ रहेको परिवार स्रोतले जनाएको छ।

बलात्कार आरोपित फरार, गाउँमै मिलाउने प्रयास

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ती किशोरीमाथि बलात्कार गर्ने आरोप स्थानीय ३१ वर्षीय पुरुषमाथि लागेको छ। घटनापछि उनी फरार रहेका छन् भने प्रहरीले खोजी कार्य तीव्र बनाएको जनाएको छ।

यसबीच, पीडित पक्षले गाउँमै घटनालाई मिलाउने प्रयास भइरहेको भन्दै केही स्थानीय व्यक्तिहरूले दबाब दिएको गुनासो गरेका छन्। उनीहरूले न्याय नपाइने डर व्यक्त गरेका छन् र अपराधीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

मानव अधिकारवादीको चासो

यो घटना सार्वजनिक भएसँगै मानव अधिकारकर्मीहरूले गम्भीर चासो व्यक्त गरेका छन्। “एक मानसिक अपाङ्गता भएकी महिला माथि भएको यौनजन्य हिंसा र त्यसपछि उपचारको क्रममा भएको मृत्यु अत्यन्त दुःखद र अन्यायपूर्ण छ,” एक अधिकारकर्मीले भने।

उनीहरूले अपराधीलाई कडा सजायको माग गर्दै पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकार र सुरक्षा निकायसँग माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web