काठमाडौँ, दसैँको लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ सडकको अवस्थाअनुसार मात्रै खुल्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले हाल देशका विभिन्न स्थानमा सडक पूर्ण रूपमा सञ्चालनमा नआएकाले अग्रिम बुकिङ तत्काल खुलाउन समस्या भएको जनाएको हो।
आज यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले भने, “सडक सुधार हुन नसक्दा उपत्यकादेखि बाहिर जान र आउनै समस्या छ। हामीले धेरै दिन अघिदेखि बुकिङ खुला गर्ने तर सवारीसाधन फर्केर आइपुगेन भने झन् समस्या हुन्छ। त्यसैले सडकको अवस्था हेरेर मात्रै अग्रिम बुकिङ खुलाउन सकिन्छ।”
स्वारका अनुसार, यद्यपि आम नागरिकले बसपार्कमा गएर दुई–तीन दिनअघिको टिकट लिन चाहेमा रोकिएको छैन। “टिकट अहिले पनि खुला छ,” उहाँले स्पष्ट पार्नुभयो।
छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वका समयमा यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
पोखरेलले दसैँ लक्षित भाडादर पारदर्शी बनाउन, अनलाइन टिकट बुकिङलाई प्राथमिकता दिन, सवारी साधनहरूको मर्मत गरेर मात्रै चलाउन, र सिट क्षमताभन्दा बढी यात्रु नबोक्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो।
त्यस्तै, प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दसैँ अवधिभर सुरक्षा व्यवस्था कडा बनाइने प्रतिबद्धता जनाउनुभयो।
