असोज १ गतेलाई शोक दिवस घोषणा, जेन-जी आन्दोलनका सहिदलाई राष्ट्रिय सम्मान


  • दिव्यदर्शन
  • सोमबार, भाद्र ३० २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ, सरकारले आउँदो असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। आज बसेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले जेन-जी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएअनुसार, आन्दोलनमा ज्यान गुमाउने व्यक्तिहरूलाई ‘शहीद’ घोषणा गरी राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरिएको छ। साथै, पीडित परिवारलाई १५ लाख रुपैयाँ राहत स्वरूप दिने निर्णय गरिएको छ।

बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार, शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गम क्षेत्रका लागि हेलिकप्टरको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

सरकारले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठका घटनाहरूको छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै, भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाउने व्यक्तिहरूको नाममा ‘जेन-जी जागरण स्मारक पार्क’ स्थापना गरिने भएको छ।

यसका साथै, बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा प्रस्तुत गरेका सबै प्रस्ताव फिर्ता लिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web