जेनजी प्रदर्शनपछि सरकारको भुक्तानी प्रणाली बन्द, तलबमा भने समस्या नहुने


  • दिव्यदर्शन
  • आइतबार, भाद्र २९ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

काठमाडौँ, रासस | २०७९ भदौ २८

जेनजी प्रदर्शनपछिको अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले सरकारको भुक्तानी प्रणाली अस्थायी रूपमा बन्द गरेको छ। सरकारी खर्च व्यवस्थापनको जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयले भदौ २५ गतेदेखि सरकारतर्फ हुने खर्च रोक्का गरेको हो।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले उत्पन्न विशेष परिस्थितिको व्यवस्थापन गर्न तथा नयाँ सरकारको प्राथमिकता अनुरूप खर्च पुन: व्यवस्थापन गर्न भुक्तानी प्रणाली बन्द गरिएको हो।

“अहिलेको परिस्थिति र नयाँ सरकारको प्राथमिकतालाई ध्यानमा राख्दै खर्च प्रणाली बन्द गरिएको हो,” पौडेलले बताउनुभयो।

यसबीच सरकारले राजस्व संकलन भने निरन्तर गरिरहेको छ। राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) सञ्चालनमै रहेको जनाइएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ २२ गतेसम्म सरकारको कुल राजस्व संकलन १ खर्ब ३२ अर्ब पुगेको थियो भने भदौ २४ सम्ममा त्यो १ खर्ब ४० अर्ब नाघेको छ। तर प्रदर्शनको मुख्य दिन भदौ २४ गते सरकारले मात्र १ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सक्यो। त्यसको भोलिपल्ट भदौ २५ मा संकलन घटेर २९ करोड रुपैयाँमा झर्‍यो।भदौ २७ सम्म सरकारको कुल राजस्व १ खर्ब ४४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

तलबमा समस्या नहुने, दशैंको थप तलबमा नयाँ सरकारको निर्देशन कुर्ने

कार्यालयका अनुसार तलब भुक्तानीमा भने कुनै समस्या हुने छैन। सूचना अधिकारी ओमप्रसाद रिजालका अनुसार, प्रदर्शनका कारण केही ढिला भए पनि भदौ महिनाको तलब समयमा पठाइनेछ।

“नियमित तलबका लागि विशेष निर्णय गर्नुपर्दैन, त्यसैले यसमा समस्या हुँदैन,” रिजालले भन्नुभयो, “तर दशैंमा दिइने अतिरिक्त एक महिनाको तलब नयाँ सरकारको निर्देशनमा भर पर्नेछ।”

हाल सरकारी कोषबाट ३ लाखभन्दा बढी निजामती कर्मचारी, सेना, प्रहरीले तलब प्राप्त गर्दै आएका छन्।

अर्थ मन्त्रालयका सेवामा आंशिक प्रभाव, मुख्य सफ्टवेयर भने सुरक्षित

प्रदर्शनका क्रममा अर्थ मन्त्रालय, भन्सार, कर कार्यालयलगायत धेरै सरकारी निकायमा तोडफोड र आगजनी भएकाले अर्थ प्रशासन आंशिक रूपमा प्रभावित भएको छ।

प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अर्थ मन्त्रालयको बजेट महाशाखा अन्तर्गत केही शाखा क्षतिग्रस्त भए पनि मुख्य सेवा दिन सक्ने संरचना सुरक्षित छन्।

मन्त्रालय अन्तर्गतका बजेट सूचना प्रणाली (LMBIS), भन्सार प्रणाली (ASYCUDA) र एकीकृत कर प्रणाली (ITS) सुरक्षित रहेको जनाइएको छ।

भन्सार र कर कार्यालयमा क्षति, साइबर आक्रमण पनि

काठमाडौँ उपत्यकाबाहेकका कर कार्यालयहरूमध्ये चार/पाँच वटा बाहेक सबैमा क्षति पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ।

महानिर्देशक मदन दाहालका अनुसार विभागको वेबसाइटमा जेनजी समूहबाट साइबर आक्रमणसमेत भएको थियो। केही समय वेबसाइट ह्याकरको नियन्त्रणमा पुगेको भए पनि पछि फिर्ता ल्याउन सफल भएको जानकारी दिइएको छ।

हाल भन्सार सेवा सञ्चालनमा आइसकेको छ भने आन्तरिक राजस्वको अनलाइन सेवा मात्र सञ्चालनमा रहेको छ।

अस्थायी रोक, छिट्टै पुनः सञ्चालनको तयारी

सरकारले विशेष परिस्थितिमा खर्च प्रणाली अस्थायी रूपमा रोक्ने परिपाटी छ। अहिले गरिएको रोक लामो समयसम्म नहुने महालेखा नियन्त्रक कार्यालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web