नेपाली सेनाको आग्रह :भ्रामक र झुटा समाचारमा विश्वास नगर्नुहोस्


  • दिव्यदर्शन
  • शुक्रबार, भाद्र २७ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौँ, पछिल्लो समय नेपाली सेनासम्बन्धी विभिन्न टिका टिप्पणी, विश्लेषण र धारणाहरू सार्वजनिक भइरहेका सन्दर्भमा सेनाले स्पष्टिकरण दिएको छ। सेनाले यस्ता भ्रामक र तथ्यहीन समाचारहरूमा सर्वसाधारणले विश्वास नगर्न आग्रह गरेको हो।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले बिहीबार एक सूचना जारी गर्दै भनिएको छ, “नेपाली सेनासम्बन्धी धारणा तथा गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ। तथाकथित स्रोत र अड्कलबाजीमा आधारित समाचारप्रति सतर्क रहनुहोस्।”

सूचनामा सेनासँग सम्बन्धित जानकारी प्राप्त गर्नका लागि सूचना निर्देशनालयसहित देशभरका आठवटा पृतना (डिभिजन) हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने उल्लेख गरिएको छ। सेनाले ती पृतना हेडक्वार्टरहरूका सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ।

सैन्य अनुशासन, निष्पक्षता र संवैधानिक भूमिका निर्वाहमा प्रतिबद्ध रहेको नेपाली सेनाले गैरप्रमाणिक जानकारीले भ्रम फैलाउने कार्य नगर्न पनि सञ्चार माध्यम र सर्वसाधारणसमक्ष आग्रह गरेको छ।

सेनाले सार्वजनिक गरेको सम्पर्क माध्यमहरूमार्फत् आधिकारिक जानकारी मात्र ग्रहण गर्न र अन्य कुनै भ्रामक सूचनालाई फैलिन नदिन आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web