धादिङ, हालैको जेनजी (Gen-Z) पुस्ताको नेतृत्वमा देशव्यापी रुपमा भइरहेको आन्दोलनले उत्पन्न गरेको विशेष राजनीतिक तथा सामाजिक परिस्थितिप्रति नागरिक समाज धादिङले गहिरो चिन्ता व्यक्त गरेको छ।
एक अपीलमार्फत नागरिक समाजले आन्दोलनलाई केवल सामान्य मागमा सीमित नभई संरचनात्मक परिवर्तनको गहिरो आवाजको रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै यसको सुरक्षित र शान्तिपूर्ण समाधानको आवश्यकता औंल्याएको छ। उनीहरूले यो आन्दोलनलाई लोकतन्त्रको सुदृढीकरणका लागि अवसरका रूपमा लिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
सरकारी दमनपछि उत्पन्न परिस्थितिले सरकारी, सार्वजनिक र निजी भौतिक पूर्वाधारमात्र नभई सामाजिक तथा संस्थागत संरचनामा पनि गम्भीर क्षति पुगेको भन्दै नागरिक समाजले गहिरो दुःख व्यक्त गरेको छ।
आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग तत्काल कदम चाल्न माग गरिएको छ।
देश तरल राजनीतिक अवस्थामा रहेको उल्लेख गर्दै अपीलमा संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायसंगत संवादमार्फत समस्याको समाधान खोज्न सबै सरोकारवाला पक्षलाई आग्रह गरिएको छ।
नागरिक समाज धादिङको विश्वास छ कि जेनजी पुस्ताले उठाएका संरचनात्मक सुधारका मागहरूलाई गम्भीरताका साथ सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रिया बलियो बनाउनु नै दीर्घकालीन समाधानको आधार हो।
अपीलमा नागरिक सर्वोच्चता, कानूनी शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सुनिश्चितता आवश्यक रहेको बताइएको छ। यसका लागि सबै पक्षले संयमता, संवेदनशीलता र दूरदर्शिता अपनाउँदै जिम्मेवारीपूर्वक आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा नागरिक समाजले विशेष जोड दिएको छ।
अपीलपत्रमा नेपाल पत्रकार महासंघ धादिङ, धादिङ बार एसोसिएसन, गैरसत्त महासंघ धादिङ, नेपाल शिक्षक महासंघ, शिलत छत्री नेपाल, दलित सेवा संघ धादिङ, मानव अधिकार संगठन धादिङ, प्लेकी व्यवसाय संघ लगायतका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।उनीहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दीर्घकालीन शान्ति, स्थायित्व र समावेशी लोकतन्त्रका लागि वर्तमान संकटको जिम्मेवार र संवेदनशील समाधान खोज्न सबै तहका नेतृत्वलाई आग्रह गरेका छन्।

