काठमाडौँ,
नेपाली सेनाद्वारा भदौ २५ गते जारी गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानी सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। राष्ट्र बैङ्कले सोमबार एक सूचना जारी गर्दै सबै इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई व्यवसायिक निरन्तरता सुनिश्चित गर्न आग्रह गरेको हो।
सूचनामा भनिएको छ, “बैङ्क तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणालीहरू सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा दिनुपर्नेछ।” अन्य प्रणालीहरूलाई चाहिँ जोखिम मूल्याङ्कनको आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्न सकिने व्यवस्था गर्न पनि राष्ट्र बैङ्कले निर्देशन दिएको छ।
यसका साथै, सेवा सञ्चालनमा रहेका शाखाहरू, एटीएम तथा उपलब्ध सेवाहरूको विवरण आम नागरिकलाई जानकारी गराउन सम्बन्धित संस्थाहरूले आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्नुपर्ने राष्ट्र बैङ्कले स्पष्ट पारेको छ।
राष्ट्र बैङ्कको यो निर्देशन हालको विषम परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक सेवा उपलब्ध गराउन तथा वित्तीय प्रणालीको स्थायित्व कायम राख्न महत्वपूर्ण मानिएको छ।
