काठमाडौं ।
जेन-जी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरका विभिन्न अस्पतालबाट लिइएको विवरण अनुसार मृतक संख्या ३० पुगेको हो।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेन-जी युवाहरूले देशभर प्रदर्शन गरेका थिए। मन्त्रालयका अनुसार, अहिले देशभर विभिन्न अस्पतालमा १,०६१ जना घाइते उपचाररत छन्।
काठमाडौंका प्रमुख अस्पतालहरूमा ३० जनासम्मको मृत्युको पुष्टि भएको छ। सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ।
सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। काठमाडौँ बाहिरका अन्य सहरहरूमा पनि जेन-जीका युवाहरूले विरोध प्रदर्शन गरेका थिए, जसको कारण सरकारले दमन बढाएको थियो।
नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेर प्रहरीसँग झडप गरेका थिए। झडपमा प्रहरीले अन्धाधुंध गोली प्रहार गरेको थियो। यस क्रममा घाइते भएका प्रदर्शनकारीलाई अस्पताल पुर्याइएको थियो, तर कतिपयको बाटोमै र कतिपयको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
प्रहरीले न्यूनतम संयमता गुमाएर प्रदर्शनकारीमाथि आक्रमण गरेको आरोप लागेको छ। निजामती अस्पतालभित्र पनि प्रहरी घुसेर आन्दोलनकारीमाथि आक्रमण गरेको थियो। डाक्टरहरू समेत अश्रु ग्यासको समस्यामा परेका थिए, जसले गर्दा अस्पतालभित्र तनावको स्थिति सिर्जना भएको थियो।
यो घटनाले जेन-जीका युवाहरूको आक्रोश र सरकारसँगको असन्तुष्टि अझ तीव्र बनाएको छ, र त्यससँगै अहिले देशभर ठूलो चिञल परेको छ।
