राष्ट्रपति र सेनाको’जेन–जी’ सँग औपचारिक वार्ता अझै भएन, सरकार गठनको प्रक्रियामा अनिश्चित


  • दिव्यदर्शन
  • बुधबार, भाद्र २५ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट


काठमाडौं, केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका २४ घण्टापछि पनि आन्दोलनकारी ‘जेन–जी’ समूह र नेपाली सेनासँग औपचारिक वार्ता शुरू गर्न सकिएको छैन।

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘जेन–जी’ समूहलाई वार्तामा आउन आह्वान गरेपछि सेनापति अशोकराज सिग्देलले पनि राति सम्बोधन गर्दै वार्ताका लागि आह्वान गरेका थिए।

तर, बीबीसी नेपाली सेवाले उद्धृत गरेका जेन–जीका प्रतिनिधिहरूका अनुसार, आफूहरूलाई अचानक बोलाइएकोले तयारी गर्न समय नपाएको र अहिले वार्ता समिति गठन र एजेन्डा तयार पार्ने कार्यमा भर्चुअल बैठक भइरहेको जानकारी दिएका छन्।

यसैबीच, अनौपचारिक भेटमा सेनापति सिग्देलले अबको प्रधानमन्त्रीका बारेमा जिज्ञासा राखे पनि त्यसको नाम सार्वजनिक नगरेको युवाहरूले बताएका छन्। १५–१६ जना जेन–जी प्रतिनिधिहरूसँग आज भएको छलफलमा सेनापति सिग्देलले पहिले आफूहरू मिलेर आउन भन्नुभएको जानकारी सार्वजनिक भएको छ।

सामाजिक सञ्जालबाटै आह्वान गरिएको आन्दोलनको नेतृत्वको दाबीमा असमंजस देखिएको छ। विभिन्न समूहहरूले नेतृत्वको दाबी गरेको र आन्दोलनको सही नेतृत्वको विषयमा अझै अस्पष्टता कायम रहेको छ।

आन्दोलनरत युवाहरूले अहिलेका दलका नेताहरूसँगै सरकारको नेतृत्व गर्नुपर्ने दाबी गरेका छन्। तर, राजनीतिक दलहरूको तर्फबाट अहिलेसम्म यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन।

संविधान अनुसार, प्रतिनिधि सभाको सदस्य मात्र सरकार प्रमुख बन्न सक्ने व्यवस्था रहेको छ, र आन्दोलनकारी पक्षका मागलाई सम्बोधन गर्न संविधानको दायराबाट बाहिर जानुपर्ने सम्भावना पनि उठिरहेको छ।

प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि, राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख भएअनुसार उहाँकै सरकारले काम चलाउने व्यवस्था गरिएको छ। तर, प्रधानमन्त्री र मन्त्रीहरूको अवस्था कस्तो छ भन्ने बारेमा राज्यका निकायहरूले कुनै जानकारी सार्वजनिक गरेका छैनन्।

राष्ट्रपति भवन शीतल निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेपछि राष्ट्रपति पौडेलले ‘जेन–जी’ समूहसँग वार्ता गर्न अपील गरेका थिए, तर त्यसपछि कुनै सार्वजनिक गतिविधि वा जानकारी उपलब्ध छैन।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web