लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम, ७३ जना रक्तदान


  • दिव्यदर्शन
  • मंगलबार, भाद्र १० २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङबेशी, लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर ईन्स्योरेन्स र भैरवी ईन्टरप्राइजेजको सहकार्यमा सम्पन्न कार्यक्रमले समाजमा रक्तदानप्रतिको जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

रक्तदान कार्यक्रममा १८ जना महिला र ५५ जना पुरुष गरी कुल ७३ जनाले रक्तदान गरेका थिए। कार्यक्रम लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना प्रमुख अतिथिका रूपमा सहभागी थिए।

उक्त अवसरमा लायन्स ३२५ आई का ५ नम्बर चियर्स पर्सन कृष्ण बद्री पौडेल, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी, नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, १२ नम्बर जोन चियर्स पर्सन कृष्णप्र ढकाल (शिशिर), लायन्स क्लब सुर्यमुखीका अध्यक्ष विक्रम विक, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख जितेन्द्र कुमार शाह, आयुर्वेद तथा चिकित्सालय धादिङका प्रमुख डा. अमुल्य दाहाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

लायन्स क्लब अफ धादिङ भैरवीले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरिसकेको छ। क्लबले स्वावलम्बी बहिरा आधारभूत विद्यालय प्राङ्गणमा वृक्षारोपण, बिद्यार्थीहरूलाई शितल छहारी नेपालीको सहयोगमा विद्यालय पोशाक वितरण, तथा ‘आमाको माया छात्रावास’मा शौचालय निर्माणजस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

कार्यक्रमका आयोजकले रक्तदानजस्तो जीवनरक्षात्मक कार्यमा सहभागी सबै रक्तदातालाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ प्रभावकारी सामाजिक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web