धादिङ, भदौ ७ –
स्थानिय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन अन्तर्गत देशभरका ७५३ वटै स्थानिय तहहरूबाट नीलकण्ठ नगरपालिका उत्कृष्ट नगरपालिकाको रूपमा प्रथम घोषित भएको छ। ९३.५ अंकसहित शीर्ष स्थानमा पुग्न सफल नीलकण्ठ नगरपालिकाले संस्थागत क्षमता, सेवा प्रवाह, योजनाको कार्यान्वयन, पारदर्शिता र उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय प्रदर्शन गरेको मानिएको छ।

नगरप्रमुख भीम ढुंगाना को नेतृत्वमा रहेको जनप्रतिनिधि टिम र राष्ट्र सेवक कर्मचारीहरूको समर्पण र योजनाबद्ध कार्यशैलीले यस उपलब्धिमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। नगरप्रमुख ढुंगानाले विकासलाई जनउत्तरदायी बनाउन, पूर्वाधार निर्माण, सामाजिक समावेशिता र समतामूलक नीति कार्यान्वयनलाई प्राथमिकता दिँदै आएका छन्।नगरवासी, नागरिक समाज तथा सरोकारवालाहरूले यस उपलब्धिप्रति खुशी व्यक्त गर्दै नगर प्रमुख भीम ढुंगाना सहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूलाई हार्दिक बधाई दिएका छन्। यस्तै, आगामी दिनमा थप सफलता प्राप्त गर्दै जनताको अपेक्षा पूरा गर्न सुझाव र शुभकामना पनि व्यक्त गरिएको छ।

एक नगरबासीले भने,“देशकै एक मात्र सर्वोत्कृष्ट नगरपालिका भएकोमा गर्व लागेको छ। तर जनताको आकांक्षा अझ धेरै छन् – पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र समतामूलक विकासका क्षेत्रमा अझ धेरै गर्न बाँकी छ। नगरपालिकाको सोच सकारात्मक छ तर स्रोतको अभाव मुख्य चुनौती हो।”स्थानिय तहको मूल्याङ्कनलाई भविष्यमा संघीय सरकारले बजेट बाँडफाँडसँग प्रत्यक्ष जोड्न सके यसले प्रतिस्पर्धा र उत्तरदायित्वमा अझ ऊर्जा थप्ने विश्वास नगरवासीहरूमा रहेको छ। यसखाले मूल्याङ्कनलाई केवल ‘कागजी पुरस्कार’ नभई ‘नीति मार्गदर्शक’को रूपमा लिँदै बजेट, स्रोत साधन र प्रविधिको पहुँचसँग जोड्न सक्ने हो भने समग्र स्थानिय शासन प्रणाली सुदृढ हुनेमा शंका छैन।नीलकण्ठ नगरपालिकाको यो सफलता केवल एक नगरको विजय होइन, यो राम्रो नेतृत्व, जिम्मेवार प्रशासन र सक्रिय नागरिक सहभागिताको संयुक्त नतिजा हो। अबको अपेक्षा भनेको – यो सफलताको निरन्तरता, जनताको दैनिक जीवनमा सुधार र समावेशी विकासको सुनिश्चितता हो।
