धादिङ, भदौ ४
सहकारी संस्थाको संस्थागत विकास, दिगो सञ्चालन र वित्तीय पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले धादिङमा तीन दिने सहकारी व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ। तालिमले सहकारी क्षेत्रको दक्षता अभिवृद्धि गर्दै वित्तीय तथा प्रशासनिक व्यवस्थापनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

एआईआएएन लग्जम्बर्गको आर्थिक सहयोगमा ग्रामीणमुखी युवा अभियान (रोयम) नेपाल, धादिङद्वारा आयोजना गरिएको तालिममा नीलकण्ठ नगरपालिका–५ र नेत्रावती डबजोङ गाउँपालिका–५ मा क्रियाशील १० वटा सहकारी संस्थाबाट २७ जना प्रतिनिधिहरू सहभागी छन्। सहभागीमध्ये सहकारी संस्थाका पदाधिकारी, सदस्य तथा कर्मचारीहरू रहेका छन्।

तालिमको औपचारिक सुरुवात गर्दै रोयम नेपाल धादिङका जिल्ला परियोजना संयोजक हरि शरण धितालले सहकारीको दिगो सञ्चालनका लागि दक्ष जनशक्ति विकास आवश्यक रहेको उल्लेख गरे। तालिममा सहकारी संस्थाको नियमित सञ्चालन प्रक्रिया, दीर्घकालीन रणनीतिक योजना निर्माण, कर व्यवस्थापन, सम्पत्ति शुद्धीकरण निवारण (AML), वित्तीय जोखिम व्यवस्थापन, र यससँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरूबारे विस्तृत प्रशिक्षण दिइँदैछ।

तालिममा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक राजेन्द्र पौड्याल र राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सञ्चार अधिकृत विजय चापागाईंले सहजीकरण गरिरहेका छन्। उनीहरूका अनुसार, सहभागी संस्थाहरूले तालिमपछि व्यवहारमा रूपान्तरण हुनेगरी कार्ययोजना तयार गर्नेछन्।तालिम यही भदौ ४ गतेदेखि सुरु भई भदौ ६ गतेसम्म सञ्चालन हुनेछ।

