सिद्धलेक गाउँपालिकामा विद्यालय समायोजन र शिक्षक सरुवा: गुणस्तरीय शिक्षाका लागि पहल


  • दिव्यदर्शन
  • मंगलबार, भाद्र ३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,
धादिङको सिद्धलेक गाउँपालिकाले गुणस्तरीय र समान पहुँचयुक्त शिक्षा सुनिश्चित गर्ने उद्देश्यले पालिकाभित्रका विद्यालयहरूको समायोजन र शिक्षक तथा कर्मचारीहरूको सरुवा गरेको छ। पालिकाको शिक्षा सुधार अभियानअन्तर्गत यो कदम चालिएको हो।

गएको साउन २९ गते बिहीबार सम्पन्न गाउँपालिकाको शिक्षा समितिको बैठकले पालिकाभित्रका ९ वटा विद्यालय समायोजन गर्ने, साथै २८ जना शिक्षक, १० जना सहयोगी कार्यकर्ता तथा ८ जना कार्यालय सहयोगीहरूको सरुवा गर्ने निर्णय गरेको गाउँपालिका स्रोतले जनाएको छ।

नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना पछि गरिएको यो निर्णय शैक्षिक पूर्वाधारको प्रभावकारी उपयोग, जनशक्ति व्यवस्थापन, विद्यार्थी संख्याको अनुपातमा शिक्षक उपलब्धता, र शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि गरिएको हो। शिक्षा समितिले स्थानीय आवश्यकता, स्रोतको समान वितरण र दीर्घकालीन सुधारलाई मध्यनजर गर्दै निर्णय गरेको जनाएको छ।

समायोजनमा परेका विद्यालयहरू यसप्रकार छन्:

  • वडा नं २: शान्ति आधारभूत विद्यालय, कालिकादेवी आधारभूत विद्यालय (फाले), सरस्वती आधारभूत विद्यालय (बिस्टारी)
  • वडा नं ३: बराह आधारभूत विद्यालय
  • वडा नं ५: अन्नपूर्ण आधारभूत विद्यालय
  • वडा नं ६: समिटार आधारभूत विद्यालय
  • वडा नं ७: कालिका चामडाँडा, कालिका अमिलिछाप, र भुमेश्वर आधारभूत विद्यालय

यी विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अन्य विद्यालयहरूमा आवश्यकताअनुसार सरुवा गरिएको छ।

सिद्धलेक गाउँपालिकाका प्रमुख तथा शिक्षा समितिका पदाधिकारीहरूले यो निर्णयले शिक्षाको गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाले प्रत्येक विद्यार्थीले समान शैक्षिक अवसर पाउनुपर्ने अवधारणालाई आत्मसात गर्दै स्रोतको अधिकतम उपयोग सुनिश्चित गर्न यो कदम चालेको हो।

पालिकाका एक पदाधिकारीले भने, “हामी विद्यार्थीको भलाइलाई केन्द्रमा राखेर विद्यालयहरूको समायोजन र जनशक्ति व्यवस्थापन गरेका छौँ। अब शिक्षण सिकाइ अझ प्रभावकारी हुनेछ।”

स्थानीय बासिन्दा तथा अभिभावकहरूले पनि दीर्घकालीन प्रभावलाई सकारात्मक देख्दै पालिकाको निर्णयको समर्थन जनाएका छन्। कतिपय स्थानमा विद्यालयमा विद्यार्थीको संख्या निकै कम रहेकाले स्रोतको दुरुपयोग भइरहेको गुनासो आइरहेका थिए।

सिद्धलेक गाउँपालिकाको यो निर्णय शिक्षामा सुधार ल्याउने एक सकारात्मक पहल हो। स्रोतको सन्तुलित वितरण, शैक्षिक प्रणालीको सुदृढीकरण र विद्यार्थी-केन्द्रित नीति कार्यान्वयनतर्फ पालिका अग्रसर देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web