धादिङमा जातीय विभेदकाे आरोप: वडा सदस्यविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी


  • दिव्यदर्शन
  • मंगलबार, भाद्र ३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, ।
धादिङ नीलकण्ठ नगरपालिका–१० ढोडेनी ज्यामरुङका २६ वर्षीय रामबहादुर विसुन्केले जातीय आधारमा दुर्व्यवहार र धम्की दिएको भन्दै वडा सदस्यविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएका छन्।

पीडित विसुन्केले दिएकाे उजुरी अनुसार, साउन १९ गते दिउँसो करिब १२:३० बजे खेतमा रोपाइँ गर्दै गर्दा वडा नम्बर १० का ४५ वर्षीय वडा सदस्य हिम पाठकले पानी प्रयोग गर्ने विषयमा विवाद गर्दै उनलाई जातीय अपशब्द बोलेका थिए। पाठकले पाइप खोसेर फ्याँकेकाे र विसुन्केलाई लछारपछार गर्दै ज्यान मार्ने धम्कीसमेत दिएको पीडितको भनाइ छ।

घटनापछि विसुन्के ज्यान जोगाउँदै जिल्ला प्रहरी कार्यालय धादिङ पुगेका थिए। त्यही दिन उनले प्रारम्भिक निवेदन दर्ता गराएका थिए। प्रहरीका अनुसार आरोपित पाठकलाई फोनमार्फत कार्यालयमा बोलाइएको भए पनि उनी उपस्थित नभएपछि पीडितले औपचारिक जाहेरी दिएका छन्।

विसुन्केले दिएको जाहेरीमा “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” अन्तर्गत कानुनी कारबाहीको माग गरिएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले प्रतिक्रिया दिँदै भने, “जाहेरी परेको छ, अहिले दर्ता गर्ने प्रक्रिया अघि बढिरहेको छ।”

पीडितले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् भने स्थानीय स्तरमा समेत घटनाप्रति चासो व्यक्त गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web