धादिङ, १ भदौ – धादिङमा ३१औँ तामाङ प्रसारण दिवसको अवसरमा “समाज रूपान्तरणको सवालः तामाङ पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। तामाङ पत्रकार संघ जिल्ला कार्यसमिति धादिङको आयोजनामा आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम तामाङ पत्रकार संघ धादिङका अध्यक्ष निर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ प्रमुख अतिथि रहेका थिए।
प्रमुख अतिथि अध्यक्ष तामाङले तामाङ भाषा र संस्कृति नेपालकै बहुमूल्य सम्पदा भएको उल्लेख गर्दै स्थानीय सरकार यसको संरक्षण र प्रवर्द्धनमा सधैं तयार रहेको बताएका छन्। उनले भाषा र संस्कृतिको जगेर्नामा पत्रकारिताको भूमिका विशेष हुने धारणा व्यक्त गरे।

संघका अध्यक्ष निर तामाङले तामाङ भाषाको संरक्षण, प्रवर्द्धन र पत्रकारितामार्फत यसको प्रसारलाई अझ प्रभावकारी बनाउन संघ प्रतिबद्ध रहेको बताए। उनले तामाङ समुदायको आवाजलाई राष्ट्रिय धारमा पुर्याउन पत्रकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, समाजसेवी तथा युवा नेता मिम्बा तामाङले मातृभाषामा सञ्चार तथा पत्रकारिताले समुदायमा चेतना फैलाउने काम गरिरहेको भन्दै युवा पुस्तालाई मातृभाषा सिक्न र प्रयोग गर्न आग्रह गरे।
नेकपा (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिका अध्यक्ष अमृत तामाङले भाषा र संस्कृतिको संरक्षणलाई राजनीतिक आन्दोलनसँग जोड्नुपर्ने विचार व्यक्त गर्दै सञ्चार क्षेत्र तामाङ समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रभावकारी माध्यम भएको बताए।

कार्यक्रममा विभिन्न दलका नेता, पत्रकार, बुद्धिजीवी, समाजसेवी र स्थानीयबासीको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले तामाङ प्रसारण दिवसले भाषा र संस्कृतिको संरक्षण मात्र नभई समुदायको सांस्कृतिक पहिचान मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गरे।


