धादिङ, २८ साउन
धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर २ मा राष्ट्रिय परिचयपत्र (National ID Card) वितरण अभियानको औपचारिक शुभारम्भ गरिएको छ। जिल्ला प्रशासन कार्यालय, धादिङको आयोजनामा र गजुरी गाउँपालिकाको व्यवस्थापनमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुमन घिमिरेको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्ड वितरण अभियान सुरु गरिएको हो।सो अवसरमा वडामा आ.व. २०७९/०८० मा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियानमार्फत विवरण संकलन गरिएका स्थानीय बासिन्दाहरूलाई परिचयपत्र वितरण गर्न थालिएको हो। अभियान अन्तर्गत बायोमेट्रिक विवरण (औंठाछाप, आँखा र अनुहारको स्क्यान) संकलन गरिएका व्यक्तिहरूले राष्ट्रिय परिचयपत्र पाउनेछन्।कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष श्रेष्ठले सरकारले नागरिकको परिचय डिजिटल प्रणालीमार्फत सुरक्षित राख्न थालेको यो पहल सशक्त र स्वागतयोग्य भएको बताए। जिल्ला प्रशासन कार्यालयका प्रमुख सुमन घिमिरेले परिचयपत्र वितरण अभियानलाई सहजीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले नागरिकलाई जानकारीमूलक सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यलाई प्राथमिकतामा राखिएको बताए।कार्यक्रममा गजुरी गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानिय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
