सिद्धलेक गाउँपालिका वडा नं. १ मा सामूहिक श्रमदानमार्फत सडक सरसफाई


  • दिव्यदर्शन
  • आइतबार, साउन २६ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,
सिद्धलेक गाउँपालिका वडा नं. १ मा सामूहिक श्रमदानमार्फत सडक सरसफाई अभियान सम्पन्न भएको छ। वडाको आयोजनामा बिहिबार सम्पन्न उक्त अभियानले सार्वजनिक स्थानको सरसफाई मात्र होइन, सामाजिक सद्भाव, स्थानीय स्वामित्व र सहकार्यको पनि सशक्त सन्देश दिएको छ।

डुम्रेखोला प्रतिक्षालय चोकदेखि वडा कार्यालयसम्मको कालोपत्रे सडक खण्डमा सञ्चालित सरसफाई कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। वडावासी स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सरकारी कर्मचारी, शिक्षक, आमा समूह, टोल विकास समिति, युवा क्लब, स्वास्थ्य स्वयंसेविका लगायतको सक्रिय सहभागिताले अभियानलाई जीवन्त बनाएको थियो।

वडा अध्यक्ष पेमा वाङग्याल लामाका अनुसार, “यस किसिमको श्रमदान कार्यक्रमले स्थानीयमा आफ्नो समुदायप्रति जिम्मेवारीको भावना विकास गर्छ। हामीले चाहेको पनि त्यही हो — स्थानीय स्वामित्व र सहकार्य।”

यो अभियान केवल सडक सरसफाईमा सीमित रहेन। यो स्थानीय तह र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण बन्न पुगेको छ। सहभागिहरुले सरसफाई मात्र होइन, एक-अर्काबीचको सम्बन्धलाई पनि मजबुत बनाउने अवसर पाएको अनुभव साझा गरेका छन्।

यसअघि पनि वडाले साउन ७ गते बुधबार नलाङ वैरेनी चोकदेखि अर्चले डाँडा हुँदै खनाल टारसम्मको सडकखण्डमा श्रमदानमार्फत सरसफाई गरेको थियो। निरन्तर रूपमा यस प्रकारको अभियान चलाउनु वडाको प्रतिबद्धता र दिगो विकासप्रतिको दृष्टिकोणलाई झल्काउँछ।

स्थानीय स्रोत, साधन र श्रमको उपयोगमार्फत स्वच्छता तथा वातावरणीय सन्तुलन कायम राख्न वडाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web