बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आइतबार पदबाट राजीनामा दिनुभएको छ। हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले आफ्नो राजीनामा सार्वजनिक गर्दै, राजनीतिक मूल्य, विधि र पद्धतिप्रति समर्पित जिम्मेवार नेतृत्वको उदाहरण प्रस्तुत गर्नुभएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट गठन भएको सरकारको नेतृत्व गर्दै लामाले साउन ८ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँको ३७४ दिन लामो कार्यकालमा प्रदेश सरकार सुशासन, प्रणाली विकास र विकास आयोजनाको कार्यान्वयनमा उल्लेखनीय सुधार ल्याउन सफल भएको तथ्याङ्कले देखाएको छ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले भन्नुभयो, “संविधानले मलाई अझै सुरक्षित राखे पनि पार्टीको आन्तरिक निर्णयलाई सम्मान गर्दै राजीनामा दिने निर्णय गरेको हुँ।” उहाँले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहलाई लोकतान्त्रिक सहकार्य र सहमतिको आधारमा मान्य ठानी मार्ग प्रशस्त गरेको बताउनुभयो।
लामाले स्पष्ट पार्नुभयो कि व्यक्तिगत कुर्सीभन्दा माथि रहेर संस्थागत परिपक्वता र राजनीतिक संस्कारको विकास गर्नु समयको माग हो। “राजनीतिमा मूल्य, विधि र पद्धति स्थापित गर्नु हाम्रो दायित्व हो,” उहाँले भन्नुभयो।
उहाँको राजीनामा राजनीतिक अस्थिरताको होइन, लोकतान्त्रिक अभ्यासको बलियो उदाहरणका रूपमा हेरिएको छ। प्रदेशमा वैकल्पिक नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै लामाले आगामी सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ।
यसैबीच नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि दलको नेतृत्व परिवर्तनका सन्दर्भमा आएको दबाबलाई सम्मान गर्दै लामाले राजीनामा दिएका हुन्। यद्यपि, उहाँ संविधानको धारा १६८(२) अनुसार नियुक्त मुख्यमन्त्री भएकाले राजीनामा गर्नुपर्ने बाध्यता थिएन।
मुख्यमन्त्री लामाको यो निर्णय नेपाली राजनीतिमा मर्यादित परम्परा र उत्तरदायित्वको प्रतीक बन्ने विश्वास गरिएको छ। उहाँले देखाउनुभएको राजनीतिक परिपक्वता प्रदेशमा स्थिरता, विकास र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने दिशामा सकारात्मक संकेत दिएको छ।
