प्रधानमन्त्री ओलीद्वारा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम शुभारम्भ


  • दिव्यदर्शन
  • बिहिबार, साउन १६ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौँ, साउन १५ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा सञ्चालित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको छ।

दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरण गर्दै कार्यक्रमको सुरुआत गर्नुभयो। कार्यक्रममा उहाँले खेल क्षेत्रको विकासमा सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै भक्तपुरको सूर्यविनायकमा नयाँ तथा स्तरीय फुटबल रङ्गशाला निर्माण गरिने घोषणा पनि गर्नुभयो।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङ तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतको उपस्थिति थियो।

फिफा फुटबल फर स्कुल कार्यक्रम विद्यालय तहमा फुटबललाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको हो। एन्फाका अनुसार, कार्यक्रम अन्तर्गत फिफाले एन्फासँग सहकार्य गर्दै ७७ वटै जिल्लाका १,०७२ विद्यालयमा ३२ हजार ६४० वटा बल वितरण गर्नेछ।

यस कार्यक्रममार्फत विद्यालयको पाठ्यक्रमसँगै खेललाई समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीपको विकास गर्ने र ग्रासरुट फुटबल प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

केही दिनअघि मात्र फिफा फुटबल फर स्कुल कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज र प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनी नेपाल आइपुगेका थिए। उनीहरूले एन्फासँग मिलेर कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे जानकारी दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web