काठमाडौं, – देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर सरेकोले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, देशका उच्च पहाडी र हिमाली भू–भागमा समेत हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा वर्षा सम्भावना छ भने बाँकी प्रदेशका केही भू–भागहरूमा समेत मेघगर्जनसहित वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख गरिएको छ।
विभागले नदी, खोला आसपास, पहिरो सम्भावित क्षेत्र तथा जोखिमयुक्त भू–भागमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
