होराइजन खबर डट कमको चौथो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न


  • दिव्यदर्शन
  • शुक्रबार, साउन ३ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ, साउन ३

लोकप्रिय अनलाइन समाचार पोर्टल होराइजन खबर डट कम ले आफ्नो चौथो वार्षिकोत्सव आज एक विशेष समारोहका साथ मनाएको छ। कार्यक्रम धादिङ जिल्ला सदरमुकाममा भव्य रूपमा सम्पन्न भयो, जहाँ विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद शालिकराम जमरकट्टेल रहेका थिए। उनले सञ्चार क्षेत्रले समाज परिवर्तनमा खेल्ने भूमिकाको चर्चा गर्दै होराइजन खबर जस्तो माध्यमले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदै जनताको आवाज बुलन्द गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल विशिष्ट अतिथिको रूपमा सहभागी थिए। उनले स्थानीयस्तरमा सञ्चार माध्यमहरूको बढ्दो प्रभावबारे चर्चा गर्दै यस्ता संस्थाहरूको सुदृढ भविष्य र सहयोगको कामना गरे।

त्यसैगरी नेपाल पत्रकार महासंघ, धादिङका अध्यक्ष सिताराम अधिकारीले मन्तव्य दिंदै पत्रकारिताको आचारसंहिता, चुनौती र अवसरबारे प्रकाश पारे। उनले निष्पक्ष र सत्य सूचना प्रवाहका लागि होराइजन खबरको योगदान सराहनीय रहेको बताए।

कार्यक्रमको अध्यक्षता होराइजन खबर डट कम का प्रधान सम्पादक तथा अध्यक्ष गजेन्द्र गुरुङले गरेका थिए। उनले विगत चार वर्षको यात्रा स्मरण गर्दै सम्पूर्ण पाठक, पत्रकार, विज्ञ र सहयोगीहरूको प्रत्यक्ष र अप्रत्यक्ष योगदानप्रति आभार प्रकट गरे।

समारोहमा पत्रकारिता क्षेत्रका अग्रजहरू, स्थानिय प्रतिनिधिहरू, समुदायका अगुवा, तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बिभिन्न तवरबाट सहयोग गर्ने तीन जना लाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रमले स्थानीय सञ्चारको महत्वलाई पुनः एकपटक उजागर गर्दै होराइजन खबर डट कमलाई थप उत्साह र जिम्मेवारीका साथ अगाडि बढ्ने प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web