काठमाडौँ ।
सानै उमेरमै संगीतमा मोह जागेका बाल गायक प्रज्वल पौडेल यतिबेला ‘The Voice of Kids Season 4’ मा सहभागी भई आफ्नो प्रतिभा देखाउँदै चर्चा कमाइरहेका छन्। सुरिलो आवाज, आत्मविश्वासी प्रस्तुति र गहिरो भावनाले भरिएको गायनशैलीले गर्दा प्रज्वलले ब्लाइन्ड अडिसनमा चारै जना कोचहरूको कुर्सी घुमाउन सफल भए। चारै कोचहरू प्रज्वललाई आफ्नो टिममा ल्याउन आतुर देखिए पनि प्रज्वलले गहिरो सोच बिचारपछि कोच सत्यराज आचार्य (कोच सत्य) लाई रोजेका छन्। २०७० साल जेठ २९ गते मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं. ४ मा पिता पुरुषोत्तम पौडेल र माता दालमु शेर्पाको कोखबाट जन्मिएका प्रज्वल सानैदेखि गीतसंगीतमा गहिरो रुचि राख्दछन्। कक्षा ३ सम्म बेलबारीकै स्थानीय विद्यालयमा अध्ययन गरेका उनी त्यसपछि अध्ययनका लागि सप्तरी जिल्लाको प्रतिष्ठित Nepal APF thako Devi Jogendra Bhagat School मा भर्ना भई हाल कक्षा ७ मा अध्ययनरत छन्। पढाइसँगै गीतसंगीतलाई समेत उत्तिकै महत्व दिँदै आएका प्रज्वलले आफ्नो आवाज र कलालाई निरन्तर निखार्दै लगेका छन्। ब्लाइन्ड अडिसनमा चर्चित गायक पुष्पन प्रधानको कालजयी गीत “बाबुको जुंगो” प्रस्तुत गर्दै उनले केवल निर्णायक मात्र होइन, सम्पूर्ण दर्शक तथा श्रोताको मन जित्न सफल भए। प्रज्वलको गायनले अहिले सामाजिक सञ्जालमा निकै तहल्का मच्चाइरहेको छ — TikTok, Facebook, Instagram जस्ता प्लेटफर्महरूमा उनका गीतहरू भाइरल भइरहेका छन्। उनका आवाजले धेरैलाई भावुक बनाएको छ, र देश–विदेशमा रहेका नेपालीहरूले उनको प्रतिभाको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। भोलिको गायकको रूपमा चम्किने प्रज्वलको यात्रामा सबैको साथ, माया र समर्थन अत्यावश्यक छ। सानो उमेरमै यति ठूलो प्रतिभा देखाउनु भनेको नै असाधारण कुरा हो। यसैले, अब आउने राउन्डहरूमा पनि उनले अझ उत्कृष्ट प्रस्तुति दिई अग्रता कायम गर्दै विजयीको मुकुट पहिरून् भन्ने कामना गरौं। सपना देख्ने र त्यसलाई पुरा गर्न साहस गर्ने बाल प्रतिभा प्रज्वल पौडेललाई हाम्रो हार्दिक शुभकामना! सारा नेपाली दर्शक, स्रोताहरू, शुभेच्छुकहरू — आउनुहोस्, यो उदीयमान बाल प्रतिभालाई साथ, समर्थन र माया दिऔं। प्रज्वलको स्वरले देशको शिर अझ गर्वले उचो बनाओस्!-सुरेश लोप्चनद्धारा लिखित
