धादिङ ।
नेपाल सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा असन्तुष्टि जनाउँदै नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङले आज जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेका छन्।
सरकारले सुनचाँदी व्यवसायमा २ प्रतिशत बिलासी कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि व्यवसायीहरू आक्रोशित भएका हुन्। उनीहरूले प्लेकार्ड बोकेर विरोध जनाउँदै नारा लगाएका थिए — “हाम्रो धर्ना जारी छ”, “हाम्रो माग पुरा गर”, “सुनमा बिलासी कर हटाऊ”, “सुनमा भन्सार कर ६ प्रतिशत कायम गर”।
सङ्घका केन्द्रीय वित्तीय उपाध्यक्ष सिताराम बराइलीले हालको कर संरचना व्यवसायीहरूका लागि मात्र नभई सर्वसाधारण उपभोक्ताका लागि समेत अप्ठ्यारो हुने बताएका छन्। “सरकारको यो निर्णयले व्यवसाय सञ्चालनमा गम्भीर असर पार्नेछ। हामी कर तिर्ने पक्षमा छौँ, तर जनतालाई मार पर्ने गरी कर वृद्धि गर्नु न्यायोचित हुँदैन,” उनले भने।
उनीहरूले विरोध कार्यक्रमलाई चरणबद्ध रूपमा अगाडि बढाउने घोषणा गर्दै माग पूरा नहुञ्जेल आन्दोलन नरोकिने चेतावनी दिएका छन्।
सङ्घले यसअघि नै सोही विषयमा ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाइसकेको छ। तर, मागहरूमा सरकारको चासो नदेखिएको भन्दै व्यवसायीहरूले सडकमा उत्रिनु परेको जनाएका छन्।
विरोधमा सहभागी व्यवसायीहरूले सरकारलाई बेलैमा चनाखो हुन आग्रह गरेका छन्, अन्यथा सिंगो मुलुकभर व्यवसायीहरू एकजुट भएर कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
