नेत्रावती डबजोङ ५ मा १५ दिने पञ्चेबाजा तालिम, दलित महिलाहरूलाई सीपयुक्त बनाउँदै संस्कृति संरक्षणको अभियान


  • दिव्यदर्शन
  • मंगलबार, असार १७ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ मा दलित समुदायका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको १५ दिने पञ्चेबाजा तालिम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। तालिमको अन्त्यमा सहभागी महिलाहरूलाई पञ्चेबाजा हस्तान्तरण गर्दै कार्यक्रमको समापन गरिएको हो।

यो तालिम २०८२ आषाढ ३ गतेदेखि १७ गतेसम्म सञ्चालन गरिएको थियो। दलित परम्परागत पेशा संरक्षण कार्यक्रम अन्तर्गत आयोजित यस तालिमको उद्देश्य सहभागी महिलाहरूलाई सीपयुक्त बनाउनुका साथै उनीहरूको कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको आयोजक पक्षले जनाएको छ। तालिममा सहभागी महिलाहरूले पञ्चेबाजा सम्बन्धी विभिन्न ताल–बाजा बजाउने सीप सिकेका थिए।

समापन समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष सीतामाया चोदेनले सहभागी महिलाहरूको उत्साह र सहभागिताको खुलेर प्रशंसा गरिन्। उनले भनिन्,“१५ दिने तालिममा सिकिएको सीपले तपाईंहरूलाई प्रफुल्ल बनाएको देख्दा मलाई अत्यन्त हर्ष लागेको छ। यस किसिमको परम्परागत सीपलाई निरन्तरता दिन आवश्यक छ भन्ने मेरो पूर्ण विश्वास छ।”उपाध्यक्ष चोदेनले महिलाहरूले तालिमको अन्त्यमा प्रदर्शन गरेका बाजाको धुन र भव्य स्वागतले आफू गहिरो रूपमा प्रभावित भएको बताउँदै अगाडि थपिन्,“जुन उत्साह र समर्पणका साथ तपाईंहरूले पञ्चेबाजा प्रस्तुत गर्नुभयो, त्यसले तपाईंहरूको आत्मविश्वास, सीप र संस्कृतिप्रतिको सम्मान झल्काउँछ। यसलाई अझ सशक्त रूपमा अगाडि बढाउन गाउँपालिकाको निरन्तर साथ रहनेछ।”

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,वडा नं.५ का वडा अध्यक्ष हरि अधिकारी लगायतका स्थानीय जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह लगायतका कर्मचारी, समाजसेवी तथा समुदायका अन्य सदस्यहरूको समेत उपस्थिति थियो। सहभागी महिलाहरूले तालिममा सिकेका सीपहरूलाई भविष्यमै स्वरोजगारसँग जोड्न सकिने विश्वास व्यक्त गरेका छन्।

यस तालिमबाट दलित महिलाहरूले परम्परागत सांगीतिक संस्कृतिलाई नबिर्सी, नयाँ पुस्तामा यसको निरन्तरता दिने अवसर प्राप्त गरेको स्थानीयको धारणा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web