केही समय माओबादीमा गएका काङ्ग्रेस समर्थक पुनःकाङ्ग्रेसमै फर्किए


  • दिव्यदर्शन
  • शनिबार, जेष्ठ ३२ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ स्थित तिखाडुङ्गा टोल समितिको आयोजनामा नेपाली कांग्रेसको अन्तरक्रिया, छलफल तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

पार्टीबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष सीता माया चोदेनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेस किल्लाको रूपमा चिनिने नेत्रावती डबजोङ वडा नं ३ तिखाडुङका केही समय पार्टी बाहिर रहेका साथीहरूलाई सम्मानका साथ पुनः पार्टीमा स्वागत गरिएको थियो।

उनीहरूलाई माला र खादा ओढाएर सम्मानपूर्वक पार्टीमा भित्र्याइएको थियो।पार्टीभित्र असन्तुष्टि भई केही समय बाहिर रहेका नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा शुभचिन्तक समर्थकहरू — खतरा तामाङ, चन्द्रबहादुर गुरुङ, इन्द्रबहादुर गुरुङ, सोक्पो तामाङ, होमबहादुर गुरुङ, अर्जुन तामाङ, खड्कबहादुर तामाङ लगायत थुप्रै व्यक्तिहरूलाई पूर्ण रूपमा नेपाली कांग्रेसमै स्वागत गर्दै प्रवेश गराइएको नेपाली कांग्रेस जिल्ला सह महामन्त्री युवा नेता विजय पाख्रिनले जानकारी दिनुभयो ।

यस्तै, केही समयअघि माओवादी केन्द्रको एक कार्यक्रममा नाचगान हेर्ने क्रममा ती व्यक्तिहरूलाई माओवादीको क्याप टोपी लगाइ जबरजस्ती पार्टी प्रवेश गराएको भन्ने हल्ला मच्चिएको थियो। तर सो हल्ला पूर्णतः गलत भएको र कसैले पनि नेपाली कांग्रेस परित्याग नगरेको स्पष्ट पारिएको छ। उनीहरू नेपाली कांग्रेसमै क्रियाशील रहँदै आएका थिए र यसपटक औपचारिक स्वागत कार्यक्रममार्फत पुनः सक्रिय सहभागी बन्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा नेपाली कांग्रेस धादिङका युवा नेता तथा वक्ता दीपक कोईरालाले प्रशिक्षण दिनुभएको थियो। उनले पार्टीको नीति, संगठनात्मक संरचना र वर्तमान राजनीतिक परिस्थिति सम्बन्धी जानकारी दिँदै पार्टीभित्र देखिएका समस्याहरू समाधान गर्न सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।कार्यक्रममा सहभागी नेताहरूले पार्टीमा फर्किएका सदस्यहरूलाई पूर्ण स्वागत गर्दै संगठन सुदृढ गर्न सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको समापनमा सहभागी सबैले पार्टीलाई बलियो बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web