धादिङ ।
सदरमुकाम धादिङबेशीमा लागू औषध दुरुपयोग नियन्त्रण,आत्महत्या रोकथाम तथा मनसुनजन्य विपद् पूर्वतयारीका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।आज बुधबार जिल्ला प्रशासन कार्यलय धादिङको आयोजनामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले लागू औषधको प्रयोग दिनानुदिन बढ्दो रहेको र यसको प्रभाव समाज, शिक्षा, युवापुस्ता र कानुनी सुरक्षामा गम्भीर देखिएको बताउनुभयो । उहाँले आत्महत्या जस्ता संवेदनशील विषयमा खुला संवादको खाँचो रहेको र पत्रकारहरूले सकारात्मक सूचनाको प्रवाहमार्फत जनचेतना अभिवृद्धि गर्न सक्ने ठूलो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।साथै उहाँले मनसुन सुरु हुने क्रममा रहेको हुँदा अबको प्राथमिकता भनेकै विपद्को पूर्वतयारी रहेको र खोज, उद्धार, राहत र सूचना प्रवाहमा पत्रकारहरूको साथ दिन तयार रहेको बताउनुभयो ।नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले धेरैजसो आत्महत्या र लागू औषधसम्बन्धी घटनाहरू सञ्चारमाध्यममा गम्भीरतापूर्वक सम्बोधन हुन नसकेको बताउनुभयो ।उहाँले समाचारको रूपमा मात्र होइन, सामाजिक जिम्मेवारीका रूपमा यस्ता विषय उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मनसुनजन्य विपद्मा सूचनाको तीव्रता र तथ्यपरकता अझ बढाउन आग्रह गर्दै विपद्को समयमा सही सूचना नै जीवन र मृत्युको आधार हुनसक्ने भएकाले पत्रकारहरूले जिम्मेवार पत्रकारिताको अभ्यास गर्नु अत्यन्त जरुरी रहेको बताउनुभयो ।कार्यक्रमको क्रममा धादिङ जिल्लामा सञ्चालनमा रहेको तीन महिनाको लागुऔषध नियन्त्रण अभियानको समिक्षा समेत गरिएको थियो। अभियानले जिल्लामा लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न उल्लेखनीय प्रभाव पारेको जानकारी कार्यक्रममा प्रस्तुत गरियो।जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले हाल समाजमा फैलिँदै गएको विकृति र आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले आत्महत्या र लागुऔषध दुबैले समाजमा गम्भीर असर पारिरहेको बताउँदै यस्ता समस्याहरू सामूहिक प्रयासबाट समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो।कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र विपद् पूर्वतयारीमा सबै क्षेत्रको समन्वयात्मक पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
