धादिङ ।
नीलकण्ठ नगरपालिकाले युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत हलुका सवारी चालक ड्राइभिङ्ग र कफी बनाउने बारिष्टा तालिमको शुभारम्भ गरेको छ ।
युवाहरूलाई दक्ष बनाउँदै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न नगरपालिकाले बिभिन्न सिपमूलक तालिमहरु दिदै आएको उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो ।कार्यक्रम उद्घाटन गर्नुहुदै उपप्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरको समृद्धि, रोजगारीको सिर्जना र आत्मनिर्भर युवाको निर्माणमा यस्ता सीपमूलक तालिमहरूले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।आजको युगमा रोजगारीको परिभाषा फेरिँदै गएको छ, हामी आफैंले साना उद्यमहरू सुरु गर्न सके आत्मनिर्भर बन्न सक्छौं, ड्राइभिङ र बारिष्टा जस्ता तालिमले युवाहरूलाई जीवन उपयोगी सीप दिइ आत्मनिर्भर बनाउने हाम्रो प्रयास हो उपप्रमुख विश्वकर्माले भन्नुभयो ।नगर उपप्रमुख विश्वकर्माले नीलकण्ठ नगरपालिकाले युवालाई प्रोत्साहन गर्ने, सीप विकासमा लगानी गर्ने नीति अनुरुप ‘युवासँग उपप्रमुख कार्यक्रम राखिएको बताउनुभयो ।तालिमले स्थानीय युवाहरूलाई व्यावसायिक सीप प्रदान गर्ने र रोजगारका अवसरहरूमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्ययले बताउनुभयो ।साथै विपन्न दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत नीलकण्ठ नगरपालिका–३, धादिङमा १५ दिने एडभान्स सिलाई कटाई तालिम पनि शुरु गरिएको छ ।तालिमबाट दलित समुदायका महिलाहरूलाई सीपमूलक शिक्षा प्रदान गरिने र उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।
