
धादिङ ।
बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले कला र साहित्य समाज परिवर्तन र रुपान्तरणको संवाहकको रुपमा रहेको बताउनुभएको छ ।साहित्यमा लाग्ने व्यक्ति समाज र राष्ट्र हाक्ने नायक बन्न सक्ने भन्दै बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले धादिङबेसीमा आयोजना गरेको बागमती साहित्य महोत्सव २०८१ को उद्घाटन समारोहको सम्बोधन गर्दै प्रमुख देवकोटाले कला र साहित्य समाज परिवर्तन र रुपान्तरणको मुहान रहेकोे बताउनुभएको हो ।‘सडकका टायर चक्काजाम जिन्दाबाद र मुर्दावादका पक्षहरुलाई परिवर्तनका संवाहक ठानेर अग्रगामी परिवर्तनमा स्वर र कमल चलाउने कला साहित्यलाई सम्मान गर्नुपर्छ । साहित्य र कला परिवर्तनका संवाहक हुन्’ उहाँले भन्नुभयो– ‘साहित्य लेखन मात्र नभएर भावना, संवेदना र परिवर्तनको मुहान हो । तर लेखन विधा लोप हुदै गएको छ । नयाँ पिँढीहरु ल्यापटप र मोवाइमा मात्र सिमित हुन थालेका छन् । उनीहरुलाई जागरुक बनाउनु पर्छ । मानव समाजको ऐना कला र साहित्यको विकास, संरक्षण र प्रवर्धन गर्न बागमती सरकार निरन्तर लाग्नेछ ।’‘साहित्य मानव मस्तिष्कको उपज हो । जसले कला संस्कृति, मूल्य मान्यता र सभ्यतालाई छर्लङ्ग पार्दछ । साहित्य प्रेम र करुणा मात्र नभएर न्याय, चेतना, परिवर्तन र रुपान्तरणको उत्प्रेरणा पनि हो’ उनले भने– ‘कला र साहित्य खुसी र समृद्धि जीवनको आधार हो । साहित्यले मानवविचको द्धन्द्ध हटाएर मानवता, एकता र सौहाद्धताको विजारोपण गर्दै सभ्य समाजको निर्माण गर्दछ ।’बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले धादिङको जिल्ला सदरमुकाम धादिङबेसीमा ‘साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन’ भन्ने मूल मर्मका साथ शुक्रबारबाट बागमती साहित्य महोत्सव सुरु भएको हो । महोत्सवमा सह–आयोजक नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिकाको विशेष सहयोग रहेको छ ।महोत्सव उद्घाटनका दिन शुक्रबार नेवाः, मगर, गुरुङ, तामाङ, चेपाङ समुदायका संस्कृति झल्किने झाँकी, पन्चैबाजासहितको र्याली गरि सुरु गरिएको हो । महोत्सवमा विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षण लगायतका गतिविधि रहने महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णु आचार्यले जानकारी दिनुभएको छ ।