धादिङ, २३ माघ ।
धादिङबेशी स्थित खुल्लामञ्चमा माघ १० गतेदेखि सुरु भएको लोक सांस्कृतिक महोत्सव–२०८१ सम्पन्न भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षकमा धादिङ जिल्लामै पहिलो पटक भएको धादिङ लोक सांस्कृतिक महोत्सव सकिएको हो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा महोत्सव समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख ढुंगानाले लोक साँस्कृतिक महोत्सवले जिल्लाको लोकसाँस्कृतिक, धुन, नृत्य र गीतहरू लगायतका विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गरेको बताउनुभयो । वर्तमान युवा पीढि आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा यस्ता महोत्सवले संस्कृति प्रवद्र्धनका निम्ति महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा नगरपालिकाले यस्ता महोत्सवहरु आयोजना गर्दै जाने बताउनुभयो ।
महोत्सव मुल आयोजक समितिका अनुसार महोत्सवमा ७० हजार भन्दा बढि दर्शकले अवलोकन गरेका छन् ।
टिकट काटेर हेर्ने र महोत्सवलाई हरेक तरवबाट सहयोग पुर्याउने तथा स्टल व्यवसायीहरु सबै गरेर ७० हजार भन्दा माथि दर्शकले अवलोकन गरेका र १ करोड भन्दा बढि कारोबार भएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताउनुभयो ।
माघ १० गतेदेखी ‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने मूल नारासहित सुरु भएको महोत्सव २० गतेसम्म चल्ने भनिएपनि विविध कारण र आवश्यकताको मध्यनजर गरेर २२ गते समापन गरिएको उहाँको भनाई छ ।
महोत्सवबाट जुटेको आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङकी अध्यक्ष कमला गैरेको भनाई छ ।
महोत्सवको प्रमुख आकर्षणको रुपमा धादिङको अन्तरपालिका लोक दोहोरी प्रतियोगिता रहेको थियो ।
उक्त प्रतियोगितामा ज्वालामुखी गाउँपालिका प्रथम भएको छ । ज्वालामुखी गाउँपालिकाबाट सहभागी संगिना मगर र सुरेन्द्र मगरको समुहले गजुरी गाउँपालिकाका कलाकार सफल अर्याल र सिता बराल लाई पछि पार्दै विजयी भएका हुन् ।
प्रतियोगितामा प्रथम भएको ज्वालामुखीले नगद ५० हजारसहित प्रमाणपत्र पाएको छ भने द्धितिय भएको गजुरीले ३० हजार नगदसहित प्रमाणपत्र पाएको छ ।
त्यस्तै सिद्धलेक गाउँपालिकाको प्रदिप बराईली र भावना अर्यालको समुह र नीलकण्ठ नगरपालिकाका सुरेन्द्र न्यौपाने र सन्जु लामाको समुहले भने बराबर अंक प्राप्त गरि तृतिय भएका छन् । तृतिय भएका दुवै समुहले क्रमश १५÷१५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र पाएका छन् ।
