
धादिङ, २९ पुस ।
पौष शुक्ल पूर्णिमा आज । नेपाली सनातन धर्मावलम्बी सोमबार एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन् ।
पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उहाँको माहत्म्य सुन्छन् ।
व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ । यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । विधिपूर्वक व्रत नबस्नेले पनि बिहान वा साँझमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्छन्।
स्वस्थानीको महिमा भएको ३१ अध्यायको स्वस्थानी कथा नेपाली भाषामा सर्वसुलभ छ । पहिले पुराणबाट नेवारी भाषामा रचिएको श्रीस्वस्थानी कथा पछि नेपाली भाषामा अनुवाद भएको संस्कृतिविद् बताउँछन् ।
सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशमा स्वस्थानी व्रत बसेर महादेव पति पाएको उल्लेख छ । गोमा र चन्द्रावतीलगायत पात्रले स्वस्थानीको व्रत गरी इच्छाअनुसारको वरदान पाएको व्रतकथामा उल्लेख छ।
श्रीस्वस्थानी र माधवनारायणव्रत माघ ३० गते समापन हुने छ ।