धादिङ ।
धादिङ जिल्ला अस्पतालको आ.व.२०८०-०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको सामाजिक परीक्षण गरिएको छ । आज मंगलबार एक कार्यक्रमको आयोजना गरी अस्पतालले प्रवाह गर्दै आएको सेवा प्रवाह, सेवाग्राहीको गुनासो तथा सेवालाई थप प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उद्देश्यले सामाजिक परीक्षण गरिएको हो ।धादिङ मिडिया नेटवर्कको आयोजना र धादिङ अस्पतालको संयोजनमा भएको सामाजिक परीक्षणमा धादिङ अस्पतालले आर्थिक वर्ष २०८०-०८१ मा प्रवाह गरेका सेवाहरु, आर्थिक हिसाव किताव र जनताको गुनासोहरु तथा सुझावहरु समेटेर धादिङ मिडिया नेटवर्कका सहजकर्ता मनिष दुवाडीले रिपोर्ट सार्वजानिक गरेका थिए । सार्वजनिक गरिएको रिपोर्टमाथि छलफल गर्दै अस्पतालसंग सरोकार राख्ने नागरिक अगुवाहरुले अस्पतालले संचालन गरेका सेवाप्रवाहमाथि जिज्ञासा, टिप्पणी, तथा सुझाव दिएका छन् ।सामाजिक लेखा परिक्षण कार्यक्रममा अस्पतालले विगतका दिनहरुको तुलनामा केही वर्ष यता राम्रो सेवा दिएकोप्रति प्रशंसा गर्दै धादिङ अस्पतालप्रति नागरिकको अपेक्षा बढ्दै गएको बताएका छन् । पहिले भन्दा अस्पतालले सेवा प्रवाहमा सुधारसँगै सेवा लिनेको संख्यामा पनि बृद्धि भएको देखिएको छ ।विशेषज्ञसहितको सेवाले अस्पतालप्रति आम नागरिकको विश्वास बढेको सहभागीहरुले बताएका छन् । अझै अस्पतालले थुप्रै कुराहरुमा सुधार तथा परिस्कृत गर्दै जानुपर्ने बताएका छन् ।अस्पतालको भवनका लागि डिपिआर स्वीकृत गराउने कि परिमार्जन गर्ने भन्ने सवाल मूख्य रुपमा उठाएका छन् । अस्पतालमा डायलाइसिस गर्ने विरामी धेरै छन् । अस्पतालमा २० जनाले डायलाइसिस गरिरहेका छन् भने २२ जना पालो कुरिरहेका छन् । कर्मचारी र उपकरण अभावका कारण सेवा प्रभावित बनेको छ । सहभागीहरुले अस्पतालमा खानेपानी, शौचालय सरसफाई, अनलाइन टिकेट सेवा सुरु तथा विमाको लागि अर्को काउन्टर स्थापना गर्ने, फिजियोथेरापी फराकिलो ठाउँमा राख्ने र उपकरण थप्ने, अस्पताल भवन अपाङ्गतामैत्री हुनु पर्ने जस्ता सवालहरु उठाएका छन् । त्यस्तै, स्वास्थ्य सम्बन्धि ज्ञान तथा चेतना दुर दराजसम्म पुर्याउनु पर्ने भन्दै स्थानीय रेडियो, टेलिभिजन तथा आम सञ्चार माध्यममा डाक्टरसँग नागरिक कार्यक्रम सुरु गर्न समेत सहभागीहरुले सुझाव दिएका छन् ।कार्यक्रममा उठेका जिज्ञासा तथा सवालहरुको सम्बोधन गर्दै धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारीले अस्पताल प्रशासनको तर्फबाट समाधानका लागि हर प्रयास गरिरहेको बताउनुभयो ।केही योजनाहरु अस्पताल सञ्चालन समिति आइ सकेपछि तत्काल अगाडी बढाइने उहाँले जानकारी दिनुभएको छ ।