दाङ ।
सामुदायिक वनको काठ काटेको आरोपमा दाङको राजपुर गाउँपालिका–७ का वडाअध्यक्ष पुष्कर वलीसहित ६ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वडा अध्यक्ष वलीसहित उनका दाइ घनबहादुर वली, घनबहादुरका छोरा तिलक वली, पदमबहादुर खड्का, भुपलाल बोटे र बालाराम कुमाल रहेका छन् । सिक्टा गाउँदेखि भित्री सिक्टासम्म विद्युत तार विस्तार गर्दा राप्ती किनार सामुदायिक वनमा तारमुनी परेका साल, ढौँटी, खयर प्रजातिका रुखहरु काटेको उनीहरुलाई आरोप लागेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।अनुसन्धानका सामुदायिक वनमा ७४ वटा विभिन्न प्रजातिका रुख काटिएको प्रमाण भेटिएको र कटान भएको काठको परिमाण झण्डै तीन सय क्यूफिट हुन आउने अनुसन्धानमा खटिएका वन अधिकृतले बताउनुभयो ।उनीहरुलाई डिभिजन वन कार्यालय देउखुरीले नियन्त्रणमा लिएको हो । वडाअध्यक्षको मिलेमतोमा वनका रुख काटिएको उजुरी अख्तियारमा परेको थियो । अख्तियार कार्यालयले छानविन गरी सत्यतथ्य पठाउन भनेपछि डिभिजन वन कार्यालय देउखुरीले कार्यालयका वन अधिकृत छोटेलाल चौधरीलाई अनुसन्धान अधिकृत बनाएर छानविन गरेको हो ।तीन जनालाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराएको र वडाअध्यक्ष वलीसहित तीन जनालाई बयानका लागि अदालतमा बोलाउदा आलटाल गरेको, फोन सम्पर्कमा नआएको हुँदा डिभिजन वन कार्यालयले सिक्टा पुगेरै नियन्त्रणमा लिन परेको चौधरीले बताउनुभयो ।डिभिजन वन कार्यालय दाङको नियन्त्रणमा रहेका वडाअध्यक्ष वलीसहितलाई जिल्ला अदालतमा पेस गर्ने तयारी छ ।