धादिङ, १३ कार्तिक ।
धादिङमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गरी राति ९ बजेसम्म देउसी भैलो खेल्न पाईने जनाएको हो ।
त्यस्तै घरेलु तथा अन्य मदिराको अवैध उत्पादन, ओसारपसार गर्न तथा बेलुका ९ बजे पछि विक्रिवितरण तथा सेवन गर्न नपाईने, सार्वजनिक स्थानमा मापक पदार्थ सेवन गरी वा नगरी होहल्ला गर्न नपाईने, कानून विपरितका जुवातास, कौड, खोरखोरे, लडुरबुर्जा, सट्टेबाजी आदि खेल्ने खेलाउने कार्य निषेधित गरिएको छ ।
त्यस्तै विपद् निम्ताउन सक्ने तथा वातावरणमा प्रत्यक्ष असर गर्ने प्रज्वलनशील पदार्थ पटाका आतसबाजी, भुईचम्पा जस्ता विस्फोटक पदार्थ बेचविखन, ओसारपसार तथा प्रयोग नगर्न सूचनामा भनिएको छ ।
चाडका आ–आफ्नै मौलिकता अनुरुप सामाजिक सदभाव र भातृत्व कायम गर्दै चाडपर्व मनाउँदा पारिवारिक एवं सामाजिक जीवनका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा कुनै असर गर्ने कानून विपरितका कार्य नगर्न आग्रह गरेको छ ।
सूचनामा उल्लेखित निषेध गरिएका कार्य गरेको पाइएमा कारबाही हुने समेत सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभएको छ । त्यस्तै कानुन उल्लंघन गरेको पाइएका जिल्ला प्रहरी कार्यालय वा नजिकैको सुरक्षा निकायमा जानकारी गराउन आग्रह समेत गरेको छ ।