
धादिङ
धादिङबेशीबाट सञ्चालित दिब्यदर्शन टेलिभिजनको प्रबन्ध निर्देशक उत्तम कुमार अधिकारी सम्मानित हुनुभएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज काठमाडौंमा आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओलिबाट नेपोनका केन्द्रिय सदस्यसमेत रहनुभएका धादिङका अधिकारीसहित ५ जनालाई पार्टीमा महत्वपूर्ण योगदान गरेको भनि सम्मान गरिएको हो ।

सो सभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताउनुभयो ।हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुटो प्रचार गरेर धम्की नदिन आग्रह गर्नुभयो ।प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौँ, चुट्छौँ, मार्छौ, काट्छौँ भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सह्य नहुने बताउनुभयो । उहाँले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा जथाभावी प्रस्तुत हुनेहरुलाई उत्तरदायी बनाउने बाटोमा सरकार रहेको पनि स्पष्ट गर्नुभयो ।

सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यतासङ्गत नभएको बताउनुभयो । उहँले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त उच्चाधिकारीबाट राष्ट्रिय सुरक्षा र पूर्व सुरक्षाकर्मीको भूमिकाबारे विचार प्रस्तुत गर्नुभएको थियो ।
pic:gorkhapatraonline