प्राकृतिक बिपद्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई २ लाख सहयोग-Divya Darshan TV


  • दिव्यदर्शन
  • शुक्रबार, असोज १८ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले शुक्रबार पालिकाको रोहवरमा राहत रकम वितरण गरेको हो ।धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र सन्तबहादुर चेपाङको परिवारलाई २ लाखको दरले राहत रकम वितरण गरिएको छ । मलेखु खोलामा माछा मार्न गएको बेला ताल्ति खोलामा पहिरोले पुरिएर उनीहरुको ज्यान गएको थियो । त्यस्तै, थाक्रे गाउँपालिका– ६ का कान्छाराईको परिवारलाई पनि घरमै पुगेर राहत रकम प्रदान गरिएको छ ।

घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर राईको मृत्यु भएको थियो ।मृतकका परिवारलाई राहत स्वरुप २/२ लाखका दरले रकम प्रदान गरिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । ‘नेपाल सरकारले तय गरेको स्वीकृत मापदण्डको आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको हो’ उनले भने– ‘राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौं । यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मल्हमको काम गर्ने अपेक्षा गरेका छौं ।’त्यस्तै, खोलाले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की ६ वर्षिया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको उनले बताए । कागजात जुटाउने तथा प्रक्रियामा रहेकोले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

source:Arjun Shrestha

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web