धादिङ
नेत्रावती डबजोङ गाउँपालिकाले बिज्ञान शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम आयोजना गरी १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ ।यस बर्षको नारा विज्ञान तथा प्रविधि विकास र उत्पादन वृद्धि भन्ने वाक्यका साथ गाउँपालिकाले आयोजना गरेको विज्ञान शैक्षिक सामग्री प्रदर्शन कार्यक्रममा गाउँपालिकाभित्रका माध्यमिक तहका बिद्यालयहरुको सहभागिता रहेको थियो ।सो कार्यक्रममा बिद्यालयको प्रतिनिधित्व गर्दै आएका बिद्यार्थीहरुले आफुहरुले बनाएर ल्याएका बिज्ञानसम्बन्धि शैक्षिक सामग्रीको उद्धेश्य,महत्वका बारेमा प्रस्तुती दिइएको थियो । प्रतियोगितात्मक तरिकाले बिद्यार्थीको प्रस्तुतीको आधारमा पालिकाले मूल्याङकन गरी प्रोत्साहनस्वरुप केही नगद र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । सो कार्यक्रममा वडा नं.५ मा अवस्थित महेन्द्र बाराही मा.वि. प्रथम, वडा नं.४ को कुण्डलादेवी मा.वि. द्धितीय र वडा नं.१ स्थितको मंगलादेवी मा.वि.तृतीय भएको छ ।
सो कार्यक्रममा आफ्रनो मन्तब्य राख्नुहुदै गाउँपालिकाका उपाध्यक्ष एबम कार्यक्रमका प्रमुख अतिथी सीता माया चोदेनले विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि स्थानिय तहले पनि केही कदम चाल्नुपर्ने र वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले समस्त आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनु तथा विद्यार्थीलगायत सबैमा डिजिटल साक्षरता विकास गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने उल्लेख गर्नुभयो । साथै उहाँले भबिष्यको नेत्रावती कस्तो बनाउने भन्ने कुरा पनि बर्तमान बिद्यार्थीहरुलाई कस्तो शिक्षा प्रदान गर्ने भन्ने कुराले निर्भरता हुने भनाई राख्दै उदीयमान प्रविधिका रूपमा विकास भइरहेको प्रविधिको समयसगै उपयोग गरी गुणात्मक शिक्षा प्रदान गनुपर्नेमा समस्त सरोकारवालामा आग्रह गर्नुभयो ।
कार्यक्रममा बिज्ञान प्रबिधिको महत्वबारे गाउँपालिकाका प्रबक्ता तथा वडा नं.१ का वडा अध्यक्ष ठाकुर गुरुङ,वडा नं.३ का वडा अध्यक्ष सुरेश वाइवा, निरञ्जना माबिका प्रद्यानाध्यापक बिकास थापामगर लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा मूल्याङकनकर्ताहरुको रुपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह,शिक्षा शाखा प्रमुख शुसिला ङ्याङजो र प्राबिधिक प्रमख नवराज काफ्ले रहनुभएको थियो । विज्ञान तथा प्रविधिको महत्त्वलाई आत्मसात् गर्दै यस क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र खोजमूलक विषयको प्रचार प्रसार गरी समुदायलाई सुसूचित गराउन र वैज्ञानिक तथा नव प्रतिभालाई प्रोत्साहन गर्न सरकारले वि.सं. २०६९ सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ ।