
धादिङ /भदौ २८
जिल्ला सदरमुकाम धादिङबेशीमा प्रदेश लेखा नियन्त्रक कार्यालय उद्घाटन गरीएको छ। शुक्रबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले कार्यालयको उद्घाटन गर्नुहुदै जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्नेगरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको बताउनुभयो । जनताले संघीयताको प्रत्याभूति घरआँगनमै गर्न सकुन् भनेर जिल्लामा कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले प्रदेश सरकारले स्थानीय सरकारलाई अधिकार नदिएको,प्रदेश सरकारले १–२ लाखको बजेट पनि तोकेर आउने र योजना माग्नको लागि प्रस्तावना लिएर जानुपर्ने कामको अन्त्य हुनुपर्ने बताउनुभयो ।संघीयताको सबैभन्दा बलियो सरकार स्थानीय सरकार भएको भन्दै उहाँले संघ र प्रदेश सरकारले हस्तक्षेप गर्ने गरेको बताउनुभयो ।लेखा नियन्त्रक कार्यालयका प्रमुख हरिबोल ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले,नेपाल नगरपालिका संघका अध्यक्ष एंव नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना, जिल्ला समन्वय प्रमुख नमराज अधिकारी,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनाली,प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।