
धादिङ, २३ असार । दुई दिनदेखिको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।
पानीको बहाव अत्याधिक बढेकाले आज बिहान ९ बजेदेखि सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिसेकेन्ड ९ लाख क्युसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्युसेक पानी बगिरहेको छ ।
आज बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको थियो। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाप बढेसँगै निरन्तर अनुगमन गरिरहेको बताउनुभयो।
आफूहरुको पूरै ध्यान अहिले बाढी पहिरोमा केन्द्रित रहेकाले भारतीय पक्षसँग पनि समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ।
यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो। पानीको बहाब अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सुसूचित गरेको छ।