धादिङ
जनस्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा जेठ १३ गते देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको छ । आज आईतबार जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा भएको जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुसँगको अभिमुखिकरण कार्यक्रममा खोप अभियानबारे जानकारी गराईएको थियो ।जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो ।झाका अनुसार पहिलो चरणमा १३ गते देखि १७ गतेसम्म धुनिबेसी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ, रुवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङ गाउँपालिकामा संचालन हुने छ ।त्यस्तै दोस्रो चरणमा जेठ २० गते देखि २६ गतेसम्म निलकण्ठ नगरपालिका, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा संचालन हुनेछ ।अभियानमा २०७३ साल बैशाखदेखी २०७५ असोज मसान्तसम्म जन्मेका बालबालिका (साढे ५ बर्षदेखी ८ बर्ष भित्रका) लाई खोप लगाईने झाले बताउनुभयो।उहाँका अनुसार जिल्लाको ४ सय ८० खोप केन्द्रबाट १२ हजार ७९० बालबालिकालाई खोप लगाईने छ ।पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।जिल्लास्तरीय खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला खोप समन्वय समितिका पदाधिकारी, बिभिन्न सञ्चार माध्यममा आवद्ध संचारकर्मी तथा सरोकारवालाहरु सहभागी थिए ।