धादिङ
धादिङको सिद्धलेक गा.पा.१ बैरेनीस्थित आयाम ईङलिस स्कुलमा बार्षिक खेलकुद सप्ताह आजदेखि सुरु भएको छ ।
विद्यार्थीहरुमा भएको विभिन्न विधामध्ये खेलकुद क्षेत्रको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्न विद्यालयको वार्षिक कार्यतालिका अनुसार मंगलबारदेखी खेल सप्ताह सुरु भएको आयाम इङलिस स्कुलकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो ।
खेल सप्ताहको उद्घाटनपूर्व विद्यालय परिसरमा मार्चपास गरिएको थियो ।आज उदघाटनका दिन बेलुन रेस, स्पोन रेस र फ्रग रेसका खेलहरु सम्पन्न भएको अर्यालले बताउनुभयो ।उहाँका अनुसार १२ गतेसम्म सञ्चालन हुने खेल सप्ताहमा प्राइमरी तथा प्री प्राइमरी अन्तरगत बल रेस, फ्रग रेस, फुटबल, भलिबल, कबड्डी, स्पोन रेस, निडल थ्रेड रेस लगायतका खेलहरु हुनेछन् भने शिक्षक र अभिभावकबिच पनि खेलहरु हुनेछन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले खेलकुदले विद्यार्थीको पढाईसंगै चौतर्फी विकास हुने भन्दै शिक्षासंगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने भएकाले खेल सप्ताह आयोजना गरिएको बताउनुभएको छ ।उक्त खेलमा विजेता विद्यार्थीहरुलाई माघ १२ गते पुरस्कार वितरण गरिने अध्यक्ष कोइरालाले बताउनुभयो।