धादिङ
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङले चार जना नागरिकलाई सम्मान गरेको छ । आज नेपालको संविधान र मानव अधिकार विषयक अन्तरक्रिया तथा शुभकामना कार्यक्रमको आयोजना गरि डाक्टर ईन्द्रमान शाक्य, नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सचिव कृष्ण लाल श्रेष्ठ, धादिङ सोसियल भोलेन्टरका अध्यक्ष भेषराज ठकुरी र रेडियो धादिङका सहकर्मी सुशिला विश्वकर्मालाई सम्मान गरेको हो । आ–आफ्नो कार्यक्षेत्रमा रहेर आम नागरिकहरुलाई सु–सुचित गराउन महत्वपूर्ण भुमिका खेलेको भन्दै चारजनालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका प्रदेश सांसद गोविन्द लम्सालले जसको पहुँच छ उसैको मात्रै कुरा सुन्ने अवस्था रहेको हुनाले मानव अधिकारकर्मीहरुले वास्तविक समस्यामा परेका नागरिकहरुको आवाजलाई महत्व दिनुपर्ने बताउनुभएको छ । यस्तै जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले संविधानमा उल्लेख भएका अधिकारहरु नागरिकले अझै सहज रुपमा पाउन नसकेको बताउनुभयो । यस्तै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले संविधानका तोकिएको निशुल्क शिक्षा अझै पनि कार्यान्वयनमा नआउदा धेरै बालबालिकाहरु पढाईबाट वञ्चित हुन परेको बताउनुभएको छ । नगरपालिकाले त्यसलाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा केही सुधार ल्याउएको पनि उहाँको भनाई छ । संचारकर्मी र मानवअधिकारकर्मी एउटै सिक्को दुई पाङग्रा जस्तै रहेको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभएको छ । कुनै राजनितिक आग्रह पूर्वाग्रह नराखि निस्वार्थ रुपमा मानव अधिकारको क्षेत्रमा काम गर्न उहाँले सुझाव पनि दिनुभएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सभापति कृष्णराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।