धादिङ ।
आज एक विशेष समारोहकाबीच जिल्ला खेलकुद विकास समिति धादिङको नवनिर्मित भवन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले समृद्ध प्रदेश बनाउने योजना अन्तरगत खेल महत्वपूर्ण विधा रहेको र खेलकुदको भौतिक संरचनासँगै खेलकुद विकासले मात्रै बागमती प्रदेश समृद्ध बन्न सक्ने हुँदा खेलकुदलाई महत्वमा राखेर योजना बनाईएको धारणा राख्नुभयो ।उहाले प्रदेशका सबै जिल्लामा खेलकुद विकासलाई जोड दिई प्रदेशको आकांक्षा बमोजिम धादिङमा भएको खेलकुद गतिविधि भने अन्य जिल्लाको तुलनामा प्रशंसनिय रहेको बताउनुभयो ।
सो नवनिर्मित भवन बागमती प्रदेश सरकारले निमार्णका लागि १ करोड विनियोजन गरे पनि ठेकेदार कम्पनी अन्नकन्या निर्माण सेवा प्रालिले ७१ लाखमा टेन्डर पारी कार्य सम्पन्न गरेको हो । त्यस्तै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको सभापतित्वमा भएको उक्त
कार्यक्रममा प्रदेश सांसद मायाँदेवी शर्मा, एमाले धादिङका उपाध्यक्ष धनबहादुर घले, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, धुनीबेसी नगर पालिकाका प्रमुख बालकृष्ण आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।